इन्टरनेट भनेको के हो ? What is Internet ?


 इन्टरनेट भनेको के  हो ? What is Internet ?







इन्टरनेट कम्प्युटर विद्युतीय प्रविधि द्वारा विकास भएको एक बिश्वब्यापी सञ्जाल हो, वा कम्प्युटरहरूको समूह हो । जुन संसार भरिका कम्प्युटर सँग सम्बन्धित उपकरणहरू एक-आपसमा  सम्पर्कमा रही विद्युतीय प्रविधिमा सूचना हरू आदान प्रदान गर्न सक्छन । सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा बिश्वब्यापी रूपमा आएको तिब्र परिवर्तनको पछाडि प्रमुख कारण इन्टरनेट नै हो । शुरुका दिनहरूमा इन्टरनेटको प्रयोग पुरानो टेलिफोन र भू-उपग्रह प्रविधि मार्फत उपलब्ध थियो । इन्टरनेट सेवा एक विशेष तर सानो आकार बाट शुरु भएर हाल सञ्चार, मनोरञ्जन, शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा अभिन्न पक्षहको रूपमा प्रयोग हुदै आएको छ । अहिले इन्टरनेटलाइ एक अपरिहार्य पूर्वाधारको रूप लिन सकिन्छ  । कतिपय देशमा इन्टनेट सेवालाइ मानवअधिकाककै रूपमा लिइन्छ ।

इतिहास :
इन्टरनेट सन् १९५० को दशकतिर सुरु भयो । जतिखेर कम्प्युटर नेटवर्क प्रणालीको आविस्कार भयो । सन् १९८२ मा टिसिपि-आईपि (TCP-IP) मापदण्ड तोकिए लगत्तै इन्टरनेटको जन्म भएको थियो  । सुरुवातमा इन्टरनेटलाई ARPANET (Advanced Research Projects Agency Network) भनिन्थ्यो, जसको संजाल सुरुमा केवल चारवटा विश्वविद्यालयमा सिमित थियो । ति विश्वविद्यालयहरु यसप्रकार छन् : युसिलए, युसियसबि, स्ट्यान्फोर्ड् रिसर्च् इन्स्टिट्युट् र युताह विश्वविद्यालय। यी विश्वविद्यालय संग युद्धकालिन परिस्थितिमा कुनै पनि स्थानमा भरपर्दो किसिमले सुचना आदान प्रदान गर्नको लागि मात्र इन्टरनेट संजालको परिकल्पना गरिएको थियो । बिगतमा इन्टरनेट केवल बैज्ञानिक, ईन्जिनियर, प्राध्यापकहरूमा मात्र सिमित थियो । इन्टरनेटको पुर्ण व्यावसायिकरण सन् १९९५ मा आएर मात्र भएको हो ।

इन्टरनेटको प्रविधि

सञ्जाल (नेटवर्क) के हो ?

संसार भरि छरिएर रहेका करोडौं कम्प्युटरहरूबिचको सञ्जाल नै  इन्टरनेट हो । कम्प्युटरहरू एक आपसमा बिभिन्न माध्यम, जस्तै, धातुका तार, फाइबर अप्टिक तार, तारबिहिन (वायरलेस) प्रविधिबाट जोडिएका हुन्छन् ।  कम्प्युटरहरू बिच सुचना आदान् प्रदान् गर्न बिभिन्न प्रोटोकलहरू प्रयोग गरिएका  हुन्छन् । प्रोटोकल  त्यो नियम हो जसले भिन्न प्रकारका हार्डवेयरलाइ एकै प्रकारको सेवा सञ्चालन गर्न निर्देश गर्छ । नेटवर्क सञ्जालहरू बिभिन्न प्रकारका हुन्छन् । जस्तै लोकल एरिया नेटवर्क (LAN), वाइड एरिया नेटवर्क (WAN), मेट्रोपोलिटन एरिया नेटवर्क (MAN), स्टोरेज एरिया नेटवर्क (SAN) इत्यादि । यस्ता लाखौँ सञ्जालहरू बिचको सञ्जाल इन्टरनेट नै संसारकै सबै भन्दा ठुलो सञ्जाल हो ।

सञ्जाल कसरि चल्छ ?'

कुनै पनि सञ्जाल चल्नलाई  कम्प्युटरहरू कुनै पनि माध्यमबाट एक आपसमा जोडिएको हुनुपर्छ । TCP-IP प्रोटोकोलको प्रयोगले कम्प्युटरहरू एक आपसमा सुचना आदान् प्रदान् गर्ने गर्छन् । प्रोटोकोल भन्नाले एउटा कम्प्युटर देखि अर्को कम्प्युटर सम्म जस्ताको तस्तै सूचना हरु पठाउनको लागि दुवै तिर के-कस्तो प्रक्रिया गर्नु पर्ने हुन्छ सो को माध्यम  हो । इन्टरनेटको यस्तो प्रारूप एक खुल्ला प्राविधिक मापदण्ड मा आधारित भएको र कसैको प्रतिलिपि अधिकारमा नपारिएकोले इन्टरनेट सम्बन्धि उपकरण तथा प्रविधि विकास गर्ने जो कोहिले पनि अनुसरण गर्न र प्रयोग गर्न सक्छन् । यसले गर्दा जोसुकैले बनाएको भए पनि इन्टरनेटको लागि बनेका उपकरण तथा प्रोग्रामहरु बिना कुनै कठिनाइ चल्ने गर्दछन् । यसले गर्दा पनि इन्टरनेटको व्यापक विकास र विस्तार सम्भव भएको छ सञ्जाल चलाउनलाई बिभिन्न बिद्युतिय उपकरणहरूको प्रयोग हुन्छ जस्तै राउटर, स्विच, इथर्नेट कार्ड इत्यादि । यी सबै उपकरणहरु इन्टरनेट मापदण्ड र प्रोटोकोल अनुरुप काम गर्ने गरी निर्माण भएका हुन्छन् ।

सञ्जालमा एकले अर्को लाई कसरि चिन्छ वा छुट्टयाउँछ?

सञ्जालमा एकले अर्कोलाई छुट्टयाउनलाई आइपी ठेगानाको प्रयोग हुन्छ । सञ्जालमा रहेका हरेक कम्प्युटरको आ-आफ्नो अद्वितिय आइपि ठेगाना हुन्छ । टेलिफोन नम्बर, हुलाक ठेगाना, पत्रमंजुषा नम्बर आदि जस्तै इन्टरनेटको यो आइपि ठेगाना पनि एउटा कम्प्युटरिक्रित संख्या हो जसमा ३२ वटा दुइमलाव (बाइनरि) अंक रहन्छन् । यसलाई आइपी संस्करण ४ पनि भनिन्छ । बढ्दो नेटवर्क संजाल र अद्वितिय ठेगाना दिनुपर्ने उपकरणको बढ्दो संख्याले गर्दा उक्त ठेगाना पद्धतिबाट मात्र सवैलाई ठेगाना दिन नपुग्ने भएकोले आइपी संस्करण ६ को पनि विकास भएको छ जसमा ३२ को सट्टा १२८ वटा अंक हुन्छन् । यसवाट प्रशस्त ठेगानाहरु प्राप्त हुन्छन् । तथापी इन्टरनेटमा प्रयुक्त पुराना उपकरण तथा कम्प्युटर हरुमा सो नया ठेगानाको लागि आवश्यक प्रावधान नरहेकोले सोको अपेक्षाकृत व्यापक प्रयोग हुन बढी समय लागिरहेको छ ।



इन्टरनेटको ब्यबस्थापन र सञ्चालन

संचालन र ब्यबस्थापनको सन्दर्भमा विश्वभर फैलिएको इन्टरनेट संजालको प्रमुख विशेषताहरु निम्नानुसार छन्:

    - क्रमिक रुपमा बिकसित र बिस्तारित
    - कुनै एक व्यक्ति, निकाय वा संस्था संग यसको स्वामित्व वा संचालनको आधिपत्य नभएको
    - वास्तविक आकार र सहभागी संख्या थाहा नहुने

इन्टरनेट एक स्वत: संचालित संजाल भएपनि यसको चुस्त संचालनको लागि आवश्यक पर्ने अनेक श्रोत साधनहरुको विभिन्न तवरले ब्यबस्थापन भएको छ ।आइपी ठेगाना, डोमेन नाम जस्ता संसारभर दोहोरिन नहुने आयामहरुको ब्यबस्थापन केन्द्रिकृत रुपमा संजाल सूचना केन्द्र (एन आइ सी) भनिने संस्थाहरुले गर्छन् । त्यसको अलावा आ-आफ्नो स्वामित्वको नेटवर्कको सम्बन्धित सेवा प्रदायक, ब्यबसायिक संस्था वा निकायले नै गर्छन् र आफ्नो नेटवर्कलाई बाह्य संसारसंग जोड्नको लागि आवश्यक लिंक वा पूर्वाधारको व्यवस्था गर्छन् । यसरि सबैले आ-आफ्नो नेटवर्क संचालन गर्ने र एक-अर्कासंग जोड्ने गरेर नै बृहत इन्टरनेट संजालको बिकास भएको हो ।

इन्टरनेटको सेवा, सुबिधा

संचार माध्यम

यथार्थमा इन्टरनेटको शुरुवात एक संचार माध्यमको रुपमै भएको थियो । शुरुमा  कम्प्युटर प्रयोग गरिरहेका यस क्षेत्रका केहि अग्रणी संस्थाहरुले आफ्नो आफ्नो कम्प्युटर हरु एक्लो रुपमा चलाउनु भन्दा तिनीहरुलाई एक अर्कासंग जोडेर चलाउँदा हरेकमा भएको फरक किसिमका जानकारी हरु एक-आपसमा पुर्याउन सहज हुने महशुश गरे । जस अनुसार उनीहरुले कम्प्युटरहरुलाई सीधा एक अर्कासंग जोडी जानकारी वा डाटा आदानप्रदान गर्न सक्ने प्रविधिको बिकास गरे । त्यहि प्रारम्भिक अवस्थाको नेटवर्क वा संजाल को अती बिस्तृत रुप हालको इन्टरनेट हो ।

इन्टरनेट आधारभूत रुपमा कम्प्युटरहरु बिचको संचार माध्यम भए पनि कम्प्युटर मानिसले प्रयोग गर्ने हुँदा स्वतः यो प्रत्येक मानिसको संचार साधनको रुपमा विकास भयो । अझ हालका दिनहरुमा भएको तिब्र विकास र हरेक प्रविधिको विकास इन्टरनेट उन्मुख भएकोले इन्टरनेट एक संचार साधनभन्दा बढी एक आधारभूत संरचनाको रुपमा स्थापित भैसकेको छ जसमा संचार बाहेक अन्य सेवाहरू पनि उपलब्ध हुन सक्छन् ।